Explanation
उमर बिन खत्ताब (रजियल्लाहु अन्हु) ले वर्णन गरेका छन्, जिब्रील (अलैहिस्सलाम) एक अपरिचित व्यक्तिको रूपमा सहाबा (पैगम्बरका साथी) हरू कहाँ आए । उनका केही विशेषताहरू यस प्रकार थियो: उनको लुगा अत्यन्त सुकिलो र सेतो थियो र कपाल धेरै कालो थियो । उनको शरीरमा थकान, धुलो छरिएको मैलो कपाल र फोहोर लुगा जस्ता यात्राको कुनै प्रभाव देखिएन । त्यहाँ उपस्थित कसैले पनि उनलाई चिन्न सकेनन् । त्यतिबेला सहाबा (पैगम्बरका साथी) हरू अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) को छेउमा बसिरहेका थिए । उनी एक विद्यार्थी जस्तै उहाँको अगाडि बसे र त्यसपछि इस्लामको बारेमा प्रश्न गरे अनि उहाँले इस्लामको पाँच स्तम्भ; शहादह (दुवै गवाही), दैनिक पाँच सलाह (नमाज) को स्थापना, हकदार व्यक्तिहरूलाई जकात दिने, रमजान महिनाको रोजा राख्ने र सक्षम व्यक्तिले हज गर्ने जवाफ दिए।
जवाफ सुनेपछि प्रश्नकर्ताले भने: तपाईंले सत्य बोल्नुभयो । यो देखेर सहाबा (पैगम्बरका साथी) हरू आश्चर्यचकित भए, उनले सोध्दा त्यसको जवाफ बारे अनभिज्ञ भए झैं सोध्दै थिए , तर जवाफ सुने पछी त्यसको जवाफ सहि भएको पुष्टि पनि गर्दै थिए ।
त्यसपछि उनले उहाँलाई ईमानको बारेमा सोधे, उहाँले ईमानका छ वटा निम्न स्तम्भहरूको बारेमा जवाफ दिनुभयो; अल्लाहको अस्तित्व र उहाँका गुणहरूमा विश्वास गर्नु, उहाँ सृष्टि लगायत हरेक कामहरूमा एक्लै हुनुहुन्छ र उहाँको मात्र उपासना गर्नु । अल्लाहले प्रकाशबाट सृष्टि गर्नुभएको फरिश्ता (स्वर्गदूत) हरू उहाँका आदरणीय सेवकहरू हुन्, जसले अल्लाहको अवज्ञा गर्दैनन् र उहाँका आदेशहरू पालना गर्छन् भनी विश्वास गर्नु । अल्लाहको तर्फ बाट पैगम्बरहरूका लागि पठाइएका आकाशीय ग्रन्थहरू जस्तै कुर्आन, तोराह र इन्जिल आदिमा आस्था राख्नु । त्यसैगरी सम्पूर्ण दूतहरूमा आस्था राख्नु, जस्तैः नूह, इब्राहीम (अब्राहाम), मोशा, येशू तथा अन्य दूतहरू र अन्तिम दूत मुहम्मद (सल्लल्लाहु अलैहि वा सल्लम) मा विश्वास राख्नु। अन्तिम दिनमा विश्वास गर्नु, जसमा मृत्यु पछि बर्जख (चिहान) को जीवनमा विश्वास, साथै मृत्युपछि मानिसहरुको पुनरुत्थान हुनेछ र तिनीहरुको लेखाजोखा हुनेछ र कर्म अनुसार वासस्थान; स्वर्ग वा नर्क को अस्तित्व रहेको कुरामा विश्वास गर्नु । अल्लाहले आफ्नो पूर्व ज्ञान र बुद्धि अनुसार सबै चीजहरू अघि नै लेख्नुभएको छ र पछि ती सबै चीजहरू उहाँको मनसाय र उहाँको भविष्यवाणी अनुसार हुन्छन् भन्ने तथ्यमा विश्वास राख्नु । त्यसपछि उनले एहसानको बारेमा सोधे, अनि उहाँले भन्नुभयो, एहसान भनेको अल्लाहलाई देखेको जस्तो गरी उपासना गर्नु, यदि यो ध्यान पुग्न सकिँदैन भने, अल्लाहले उसलाई हेर्दै हुनुहुन्छ सोचेर अल्लाहको उपासना गर्नु । यहाँ पहिलो स्थान दर्शन हो, जुन उच्च छ र दोस्रो स्थान मनमा ध्यान हो ।
त्यसपछि उनले कयामत कहिले आउँछ, सोधे ? अनि उहाँले जवाफमा भन्नुभयो, कयामतको ज्ञान ती चीजहरू मध्ये एक हो जसको ज्ञान अल्लाहले आँफुमा सुरक्षित राख्नुभएको छ । त्यसैले यसको बारेमा कसैलाई थाहा छैन । नत प्रश्न सोध्नेलाई, नत जवाफ दिनेलाई ।
त्यसपछि उनले कयामतका संकेतहरूका बारे सोधे, अनि उहाँले जवाफ दिनुभयो, दासी र तिनीहरूको गर्भबाट जन्मिने बच्चाहरू धेरै हुनेछन र धेरै छोराछोरीले आमाका अनाज्ञाकारी हुन्छन् र दास जस्तै व्यवहार गर्छन् । अर्को चिन्ह: अन्तिम दिनहरूमा बाख्रा चराउने गोठाला र भिखारीहरूलाई ठूलो मात्रामा सम्पत्ति दिइनेछ र तिनीहरूले एकअर्कासगँ आफ्ना सुन्दर र अग्ला भवनहरूको बारेमा घमण्ड गर्नेछन् ।
अन्तमा, रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, प्रश्न सोध्ने व्यक्ति जिबरील थिए, जो सहाबाहरूलाई इस्लाम सिकाउन आएका थिए ।